बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ HealthPati
HP
HealthPati
healthpati.com · स्वास्थ्य
healthpati.com
सबै
१०
उपयोगी जानकारी
१
समाचार
७
नर्सिङ
२
HealthPati मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर HealthPatiका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
Health Aawaj
NH
Nepali Health
HN
Health News Nepal
NP
नेपाल हेल्थ प्रेस
SP
Swasthya Post
NN
नेपाल हेल्थ न्युज
Sep 23
HP
HealthPati
· Sep 23
नेपालमै पहिलो पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनमा
काठमाडौँ । पुरुषमा देखिने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पहिचान र उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपालकै पहिलो पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । पुरुषमा देखिने यौन दुर्बलता, यौन इच्छा तथा उत्तेजनामा कमी, यौनसम्पर्कका क्रममा हुने पीडा, चरम आनन्द प्राप्त गर्न नसक्ने तथा यौन सन्तुष्टि नहुनेलगायतका समस्याको एकीकृत रूपमा पहिचान र उपचार गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), सुनौलो परिवार नेपाल र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)को सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले क्लिनिक सञ्चालनमा ल्याएको हो । मंगलबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्माले क्लिनिकको शुभारम्भ गर्नुभयो । उहाँले पुरुष स्वास्थ्यका समस्या लामो समयदेखि पर्याप्त रूपमा सम्बोधन हुन नसकेको अवस्थामा विभिन्न विधाका विशेषज्ञको समन्वयमा सेवा सुरु हुनु महत्वपूर्ण भएको बताउनुभयो । पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनको नेतृत्व गर्नुभएका महाराजगञ्ज मेडिकल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. खेमबहादुर कार्कीले पुरुषका यौन स्वास्थ्यसम्बन्धी समस्या एउटा मात्र रोग वा एउटा मात्र चिकित्सकीय विधासँग सम्बन्धित नहुने बताउनुभयो । “पुरुषका यौनसम्बन्धी समस्या बृहत् र बहुपक्षीय हुन्छन् । एउटै समस्याको पछाडि शारीरिक, हर्मोनसम्बन्धी, स्नायुसम्बन्धी तथा मानसिक कारण हुन सक्छन् । त्यसैले एउटै ठाउँबाट विभिन्न विशेषज्ञको सेवा उपलब्ध गराउने गरी क्लिनिक स्थापना गरिएको हो,” उहाँले बताउनुभयो । उहाँका अनुसार यौन इच्छामा कमी हुनु, यौन उत्तेजना नहुनु वा कम हुनु, चरम आनन्दको अवस्थामा पुग्न नसक्नु, यौनसम्पर्क गर्दा पीडा हुनु र यौन सन्तुष्टि प्राप्त गर्न नसक्नेजस्ता समस्या पुरुषमा देखिने गरेका छन् । यस्ता समस्या उमेर बढ्दै जाँदा मात्र देखिने नभई विभिन्न शारीरिक तथा मानसिक कारणले जुनसुकै उमेरमा देखिन सक्ने उहाँले बताउनुभयो । तीनमध्ये दुईमा समस्या डा. कार्कीका अनुसार सन् २०२४ मा नेपालका ३४ जिल्लालाई समेटेर गरिएको राष्ट्रियस्तरको अध्ययनले यौन स्वास्थ्यसम्बन्धी समस्या उल्लेख्य रहेको देखाएको थियो । अध्ययनले पुरुषमा यौन दुर्बलताको समस्या ७२ प्रतिशतसम्म रहेको देखाएको उहाँले जानकारी दिनुभयो । “नेपालमा पहिलो पटक राष्ट्रियस्तरमा गरिएको अध्ययनले पुरुषमा यौन दुर्बलताको समस्या ठूलो रहेको देखाएको थियो । तर, समस्या भए पनि उपचारका लागि कहाँ जाने भन्ने स्पष्ट र एकीकृत सेवा थिएन,” उहाँले भन्नुभयो, “महिलाका लागि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवामार्फत यौन स्वास्थ्यका समस्या सम्बोधन गर्ने संरचना थिए । पुरुषका लागि भने छुट्टै एकीकृत सेवा अभाव थियो । त्यसैले यो क्लिनिक सुरु गरिएको हो ।” चिकित्सकका अनुसार पुरुषमा देखिने यौन स्वास्थ्यसम्बन्धी समस्या केवल यौन जीवनसँग मात्र जोडिएको विषय होइन । उच्च रक्तचाप, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोगलगायतका दीर्घकालीन नसर्ने रोगका कारण पनि यौन स्वास्थ्यमा असर पर्न सक्छ । त्यस्तै, हर्मोनको असन्तुलन, स्नायुसम्बन्धी समस्या, तनाव, चिन्ता तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्याले पनि यौन क्षमतामा प्रभाव पार्न सक्ने चिकित्सकहरूको भनाइ छ । त्यसैले पुरुष स्वास्थ्य क्लिनिकमा समस्या देखिएको अंगको मात्र उपचार गर्नेभन्दा पनि समस्याको मूल कारण पहिचान गरी आवश्यकताअनुसार विभिन्न विधाका चिकित्सकको सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । चार विधाका विशेषज्ञबाट सेवा शिक्षण अस्पतालका युरोलोजी विभाग प्रमुख डा. पवनराज चालिसेले पुरुष स्वास्थ्यसम्बन्धी समस्या धेरै भए पनि उपचारका लागि छुट्टै र समन्वित सेवा उपलब्ध नहुँदा धेरै पुरुष समस्या लिएर अस्पतालसम्म नआउने अवस्था रहेको बताउनुभयो । “पुरुषत्वसम्बन्धी स्वास्थ्य समस्या उल्लेख्य छ । तर, त्यसको समाधानका लागि कहाँ जाने र कसलाई देखाउने भन्ने अन्योल थियो । यही आवश्यकता पूरा गर्न पुरुष स्वास्थ्य क्लिनिक सञ्चालन गरेका हौँ,” उहाँले बताउनुभयो । हाल क्लिनिकबाट मूत्ररोग, स्नायुरोग, मानसिक रोग तथा हर्मोन वा ग्रन्थीरोग विशेषज्ञबाट सेवा उपलब्ध हुने भएको छ । आवश्यकता हेरी सम्बन्धित अन्य विधाका विशेषज्ञको सेवा पनि जोड्दै जाने तयारी अस्पतालको छ । डा. चालिसेका अनुसार पुरुष स्वास्थ्यसम्बन्धी सेवा थप प्रभावकारी बनाउन यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न चिकित्सकलाई विशेष प्रशिक्षण तथा फेलोसिपका लागि पठाउने तयारीसमेत भइरहेको छ । कार्यक्रममा हर्मोनरोग विशेषज्ञ डा. नरेश पराजुली तथा मानसिक रोग विशेषज्ञ प्राडा मनिषा चापागाईँले पनि पुरुष स्वास्थ्यका समस्या शारीरिक अवस्थासँग मात्र नभई मानसिक स्वास्थ्य तथा जीवनशैलीसँग समेत जोडिने भएकाले बहुविशेषज्ञ सेवा आवश्यक रहेको बताउनुभयो । कसरी पाइन्छ सेवा ? पुरुष स्वास्थ्य क्लिनिकमा हरेक दिन बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म प्रारम्भिक परीक्षण तथा स्वास्थ्य जाँच गरिने भएको छ । सोमबार, मंगलबार र बिहीबार समस्याको प्रकृतिअनुसार सम्बन्धित विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइनेछ । सेवा लिन चाहने सेवाग्राहीले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)बाट पुरुष स्वास्थ्य क्लिनिकको टिकट लिनुपर्नेछ । त्यसपछि आवासीय चिकित्सकले प्रारम्भिक परीक्षण र समस्या पहिचान गर्नेछन् । प्रारम्भिक परीक्षणबाट थप विशेषज्ञ सेवा आवश्यक देखिएमा सम्बन्धित विशेषज्ञ चिकित्सककहाँ पठाउने व्यवस्था गरिएको डा. कार्कीले बताउनुभयो । उहाँका अनुसार पुरुषले यौन स्वास्थ्यसम्बन्धी समस्या खुलेर बताउन नसक्ने तथा लाज र सङ्कोचका कारण उपचारमा नआउने समस्या पनि रहेको छ । यही कारण कतिपय सामान्य रूपमा उपचार गर्न सकिने समस्या लामो समयसम्म जटिल बन्ने गरेको उहाँले बताउनुभयो । पुरुष स्वास्थ्यलाई यौन स्वास्थ्यमा मात्र सीमित नगरी शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने भएकाले क्लिनिकले समग्र पुरुष स्वास्थ्य सेवामा नयाँ सुरुवात गर्ने अस्पतालको अपेक्षा छ ।
Sep 11
HP
HealthPati
· Sep 11
तीन सय परिवारको पुनःस्थापनाका लागि युएसभी फार्माको डेढ करोड सहयोग
काठमाडौँ, भदौ २६ गते । बाढीपछि घरबारविहीन भई अस्थायी आश्रयमा बसिरहेका परिवारलाई सुरक्षित बसोबास र आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल चिकित्सक सङ्घले राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने भएको छ । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा हिमबाढीका कारण प्रभावित परिवारलाई लक्षित गरी सञ्चालन हुने उक्त अभियानका लागि युएसभी फर्मास्युटिकल्सले एक करोड ५० लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ । सङ्घका अनुसार सहयोगबाट करिब तीन सय परिवारका एक हजार पाँच सय जनालाई प्रत्यक्ष लाभ पुग्नेछ । बाढीबाट प्रभावित परिवारको अवस्था र स्थानीय आवश्यकताका आधारमा राहत कार्यक्रम सञ्चालन गरिने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले बताउनुभयो । प्रभावित क्षेत्रमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत आवश्यकताको विवरण सङ्कलन गरी सोही आधारमा सामग्री तथा सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । डा. रिजालका अनुसार राहत कार्यक्रमलाई केवल तत्काल खाद्यान्न तथा सामग्री वितरणमा सीमित नराखी प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग उपलब्ध गराउने गरी अघि बढाइनेछ । घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । अस्थायी आवाससँगै प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती र मोबाइल चार्ज गर्ने सुविधा उपलब्ध गराउने योजना रहेको छ । बाढीका कारण खानेपानी तथा सरसफाइमा समस्या भएका स्थानमा स्वच्छ खानेपानी र सरसफाइका सामग्री पनि उपलब्ध गराइने सङ्घले जनाएको छ । प्रभावित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिनेछ । बाढीपछि स्वास्थ्य संस्था तथा नियमित स्वास्थ्य सेवामा पहुँच प्रभावित भएका परिवारलाई आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउने तयारीसमेत गरिएको डा. रिजालले बताउनुभयो । यसै क्रममा बिहीबार नेपाल चिकित्सक सङ्घ र युएसभी फर्मास्युटिकल्सबीच राहत सहयोगसम्बन्धी सम्झौता भएको छ । सङ्घका अध्यक्ष डा. रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले सम्झौतापत्र आदानप्रदान गर्नुभएको थियो । युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत सिसोडियाले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वसँग जोडिएको विषय भएको बताउनुभयो । स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्थाका रूपमा विपद्बाट प्रभावित परिवारको आवश्यकतामा सहयोग पु¥याउनु आफ्नो दायित्वसमेत भएको उहाँले बताउनुभयो । राहत सही व्यक्तिसम्म पुग्न स्थानीय आवश्यकता पहिचान महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा सञ्चालन हुने अभियानबाट सहयोग प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो । युएसभी फर्मास्युटिकल्सका नेपाल प्रमुख सुरज श्रेष्ठले विपद्का कारण तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन चिकित्सक सङ्घसँग सहकार्य गरिएको बताउनुभयो । स्वास्थ्यसँगै प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन आवश्यक सामग्री उपलब्ध गराउनेतर्फ पनि सहयोग केन्द्रित गरिने उहाँले बताउनुभयो । युएसभी फार्माका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपद्पछिको पुनःस्थापना लामो प्रक्रिया भएकाले सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रभावित परिवारको वास्तविक आवश्यकताअनुसार सहायता पु¥याउन सामूहिक पहल प्रभावकारी हुने उहाँले बताउनुभयो ।
Aug 18
HP
HealthPati
· Aug 18
स्वास्थ्य व्यवसायी परिषद्को नेतृत्वमा सगुन पौडेल
काठमाडौं, । स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली र जनस्वास्थ्यका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त हुनुभएको छ। स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा लामो व्यावसायिक अनुभव सम्हाल्नुभएका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासम्म विभिन्न प्राविधिक तथा नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्नुभएको छ। उहाँले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा रहेर स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्नुभएको हो। स्वास्थ्य प्रणालीको सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना निर्माण, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान पौडेलका प्रमुख कार्यक्षेत्र हुन्। यी क्षेत्रमा प्राप्त अनुभवले परिषद्को नियमनकारी तथा व्यावसायिक भूमिकालाई थप प्रभावकारी बनाउन उहाँलाई सहयोग पुग्ने विश्वास गरिएको छ। पौडेलको शैक्षिक पृष्ठभूमि पनि स्वास्थ्य नीति, जनस्वास्थ्य र स्वास्थ्य व्यवस्थापनसँग सम्बन्धित छ। उहाँले बेलायतस्थित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गर्नुभएको छ। त्यसैगरी, इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट उहाँले सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको हो। उहाँले पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ। स्वास्थ्य व्यवसायीको व्यावसायिक दक्षता र सेवा गुणस्तर कायम गर्न परिषद्को भूमिका महत्वपूर्ण रहन्छ। स्वास्थ्य व्यवसायीको दर्ता, व्यावसायिक मापदण्डको पालना तथा नियमनसँगै क्षमता अभिवृद्धि र पेशागत विकासका विषयमा परिषद्ले काम गर्दै आएको छ। नवनियुक्त अध्यक्ष पौडेलको स्वास्थ्य नीति, प्रणाली विकास तथा जनशक्ति व्यवस्थापनसम्बन्धी अनुभवलाई परिषद्को कामसँग जोडेर अघि बढाउन सके स्वास्थ्य व्यवसायीको व्यावसायिक मापदण्ड तथा सेवा गुणस्तर सुधारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। पौडेलको नेतृत्वमा परिषद्ले स्वास्थ्य व्यवसायीको व्यावसायिक क्षमता विकास, नियमन प्रणालीलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने विश्वास गरिएको छ।
Aug 18
HP
HealthPati
· Aug 18
स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा डा. सुधा बस्नेत
काठमाडौं । स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाणलाई स्वास्थ्य नीति र सेवासँग जोड्ने जिम्मेवारीसहित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा डा. सुधा बस्नेत नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. बस्नेतलाई परिषद्को अध्यक्षमा नियुक्त गर्नुभएको हो। उहाँसँगै परिषद्को उपाध्यक्षमा प्रा.डा. नारायणबहादुर महोत्रा नियुक्त हुनुभएको छ। त्यसैगरी परिषद्को सदस्यमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतिशकुमार देव, डा. धर्मागत भट्टराई र डा. रबा थापा नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। बालरोग विशेषज्ञका रूपमा चिकित्सकीय सेवामा सक्रिय उहाँ चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत लामो समयदेखि संलग्न हुनुहुन्छ। डा. बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनअन्तर्गत सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गर्नुभएको हो। उपाध्यक्षमा नियुक्त प्रा.डा. महोत्रा पनि महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजीका प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस तथा क्लिनिकल फिजियोलोजीमा एमडी गर्नुभएको छ। उहाँले जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययनसमेत पूरा गर्नुभएको छ। स्वास्थ्य अनुसन्धानको क्षेत्रमा पनि डा. महोत्राको अनुभव रहेको छ। उहाँले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर अनुसन्धानसम्बन्धी कार्यमा योगदान पुर्याउनुभएको थियो। परिषद्को नयाँ नेतृत्वले स्वास्थ्य अनुसन्धानको गुणस्तर अभिवृद्धि, अनुसन्धानका लागि आवश्यक प्राथमिकता निर्धारण तथा अनुसन्धानबाट प्राप्त निष्कर्षलाई स्वास्थ्य नीति र सेवामा उपयोग गर्ने विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सचिवालयका अनुसार नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले स्वास्थ्य अनुसन्धानलाई थप व्यवस्थित, गुणस्तरीय र प्रमाणमा आधारित बनाउँदै अनुसन्धानका उपलब्धिलाई स्वास्थ्य नीति निर्माण तथा सेवा प्रवाहसँग जोड्ने दिशामा काम गर्नुहुनेछ। नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानलाई व्यवहारिक रूपमा उपयोग गर्ने र अनुसन्धानका निष्कर्षलाई नीति निर्माणको आधार बनाउने विषय महत्वपूर्ण रहँदै आएको छ। नयाँ नेतृत्वले अनुसन्धानकर्ता, स्वास्थ्य संस्था र नीतिनिर्माण तहबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै अनुसन्धानको प्रतिफल जनस्वास्थ्य सुधारमा उपयोग गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Aug 18
HP
HealthPati
· Aug 18
‘चिकित्सकमाथि चाप र शोषण दुवै रोकिनुपर्छ’
काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको निर्वाह भत्ता, कार्यअवधि, व्यावसायिक दक्षता र चिकित्सा शिक्षाको गुणस्तर सुधारलगायत विषयमा सरकारले सरोकारवालासँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार आयोजित छलफलमा प्रशिक्षार्थी तथा आवासीय चिकित्सकले पाउने सुविधा र उनीहरूको प्रशिक्षणलाई व्यवस्थित बनाउनेदेखि चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिसम्मका विषयमा छलफल भएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का उच्च अधिकारीसहित सम्बन्धित क्षेत्रका सरोकारवालाको सहभागिता थियो। छलफलमा प्रा.डा. अग्रवालले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकमाथि मानसिक वा शारीरिक चाप नपर्ने वातावरण निर्माण गर्दै चिकित्सा शिक्षाको पाठ्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षणका नाममा चिकित्सकको श्रमको दुरुपयोग वा कुनै पनि प्रकारको शोषण हुन नहुने उहाँको भनाइ थियो। उहाँले चिकित्सा शिक्षा सामान्य शैक्षिक अध्ययन मात्र नभई व्यावसायिक दक्षता हासिल गर्ने कठोर र जिम्मेवार तालिमसमेत भएकाले प्रशिक्षार्थी चिकित्सकको काम, तालिम र अधिकारका विषयलाई सन्तुलित ढंगले सम्बोधन गर्नुपर्ने बताउनुभयो। “चिकित्सकमाथि मानसिक र शारीरिक चाप नहोस्, पाठ्यक्रम पूर्ण रूपमा लागू होस् र कुनै पनि प्रकारको शोषण नहोस् भन्ने विषयलाई सन्तुलित रूपमा अघि बढाउनुपर्छ,” प्रा.डा. अग्रवालले भन्नुभयो। चिकित्सकको व्यावसायिक क्षमता अभिवृद्धिसँगै उनीहरूको नियमित अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो। चिकित्सकको क्षमता र प्रशिक्षणको प्रगतिलाई वस्तुगत रूपमा अभिलेख राख्ने तथा अनुगमन गर्ने माध्यमका रूपमा सरकारले अघि बढाएको डिजिटल लगबुक प्रभावकारी हुने उहाँले बताउनुभयो। प्रा.डा. अग्रवालले चिकित्सकको दक्षता मूल्यांकनका लागि ठोस र नियमित प्रणाली आवश्यक रहेको उल्लेख गर्दै डिजिटल लगबुकले चिकित्सकले प्रशिक्षण अवधिमा हासिल गरेका सीप, अनुभव र कार्यसम्पादनको अभिलेख राख्न सहज बनाउने बताउनुभयो। यसबाट चिकित्सकको प्रशिक्षण र व्यावसायिक विकासलाई थप व्यवस्थित तथा नियमन गर्न सकिने उहाँको भनाइ थियो। छलफलमा प्रशिक्षार्थी तथा आवासीय चिकित्सकले प्राप्त गर्ने तलब तथा निर्वाह भत्ताको विषयसमेत उठेको थियो। त्यस क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले चिकित्सकको प्रशिक्षण र लागू पाठ्यक्रमलाई आधार बनाएर तलब तथा निर्वाह भत्ता निर्धारण गरिएको स्पष्ट पार्नुभयो। त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. देवेन्द्रबहादुर खत्रीले प्रशिक्षार्थी चिकित्सकको नियमितता, विश्राम र प्रशिक्षणको गुणस्तर सुनिश्चित गर्न स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले प्रशिक्षण अवधिमा चिकित्सकको ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने तथा हप्तामा कम्तीमा एक दिन बिदाको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। छलफलमा चिकित्सकको प्रशिक्षणलाई सेवासँगै सिकाइ र व्यावसायिक दक्षता विकासको प्रक्रियाका रूपमा व्यवस्थित गर्नुपर्ने, काम गर्ने समय र विश्रामबीच उचित सन्तुलन कायम गर्नुपर्ने तथा चिकित्सा शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने विषयमा जोड दिइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा सुधारका लागि सम्बन्धित निकाय र सरोकारवालासँग निरन्तर छलफल गर्दै आएको जनाएको छ। प्रशिक्षार्थी तथा आवासीय चिकित्सकसम्बन्धी विषयमा भएको छलफललाई पनि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आवश्यक नीतिगत पहलका रूपमा हेरिएको छ।
Aug 11
HP
HealthPati
· Aug 11
वीर अस्पतालका डा. मिश्रविरुद्ध छानबिनको मागसहित उजुरी
काठमाडौं । वीर अस्पतालमा कार्यरत कार्डियोलोजिस्ट डा. दीपककुमार मिश्रको कार्यसम्पादन तथा अस्पतालका विभिन्न गतिविधिमा उहाँको भूमिकालाई लिएर प्रश्न उठाउँदै सम्बन्धित निकायमा उजुरी परेको छ। अस्पताल सुधार जेएनजी अभियानका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न निकायमा दर्ता गरिएको उजुरीमा डा. मिश्रले आफ्नो जिम्मेवारीको सीमाभन्दा बाहिर गई अस्पतालका खरिद, लेखा, प्रशासन तथा स्टोरलगायतका विषयमा हस्तक्षेप गर्ने गरेको आरोप लगाइएको छ। उजुरीकर्ताले डा. मिश्रले अस्पतालका निमित्त निर्देशकलाई समेत प्रभावमा पार्ने गरेको, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा अन्य व्यक्तिसँग मिलेर आर्थिक गतिविधि सञ्चालन गरेको र अस्पतालसँग सम्बन्धित कारोबारमा आर्थिक लाभ लिने गरेको दाबी गरेका छन्। उजुरीमा डा. मिश्रको सम्पत्ति तथा लगानीको स्रोतसमेत छानबिन गर्न माग गरिएको छ। यससम्बन्धी उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिइएको जनाइएको छ। डा मिश्रले आफ्नो तथा श्रीमतीको नाममा स्वार्थ बाझिने प्रकृतिका स्वास्थ्य संस्था तथा कम्पनी सञ्चालन गरेको आरोप लगाएका छन्। त्यसैगरी, अस्पतालसँग सम्बन्धित विभिन्न भुक्तानीमा १२ देखि १३ प्रतिशतसम्म कमिसन लिने गरेको दाबीसमेत उजुरीमा गरिएको छ। यद्यपि, उजुरीमा उल्लेख गरिएका आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। डा.मिश्रद्धारा आरोपको प्रतिबाद आफूमाथि लगाइएका आरोपप्रति डा. मिश्रले असहमति जनाउँदै सबै आरोप अस्वीकार गर्नुभएको छ। उहाँले आफूलाई व्यक्तिगत रूपमा बदनाम गराउने उद्देश्यले योजनाबद्ध रूपमा यस्ता आरोप लगाइएको बताउनुभयो। “म वीर अस्पतालमा आएको दुई वर्ष मात्र भएको छ। बाहिरबाट भनिएजस्तो म कुनै शक्तिशाली व्यक्ति होइन,” उहाँले भन्नुभयो। अस्पतालका खरिद, लेखा, प्रशासन तथा स्टोरलगायतका शाखामा आफूले अनधिकृत रूपमा हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै सत्यता नरहेको उहाँको भनाइ छ। आफ्नो जिम्मेवारी र अधिकारको सीमाभन्दा बाहिर गएर कुनै काम नगरेको उहाँले स्पष्ट पार्नुभयो। सरकारी सेवामा प्रवेश गर्नुअघि आफ्नो नाममा कम्पनी रहेको भए पनि हाल आफ्नो नाममा कुनै कम्पनी नरहेको उहाँले जानकारी दिनुभयो। आफ्नो वा श्रीमतीको नाममा स्वार्थ बाझिने प्रकृतिको स्वास्थ्य संस्था सञ्चालन भइरहेको भन्ने आरोपसमेत उहाँले अस्वीकार गर्नुभयो। अस्पतालका केही कर्मचारीबाट आफूविरुद्ध लगाइएका आरोप पनि तथ्यमा आधारित नरहेको डा। मिश्रको दाबी छ। “कर्मचारीहरूले ढाडमा टेकेर टाउकोमा प्रहार गर्न खोजेका छन्,” उहाँले भन्नुभयो। अस्पतालका व्यवसायीसँग आर्थिक लेनदेन गरेको वा विभिन्न भुक्तानीमा कमिसन लिएको आरोप पनि उहाँले अस्वीकार गर्नुभयो। आफ्नो पदको प्रभाव प्रयोग गरी आर्थिक लाभ लिएको भन्ने आरोप निराधार रहेको उहाँको भनाइ छ। आफूमाथि लगाइएका आरोपका विषयमा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन भए वास्तविकता स्पष्ट हुने डा. मिश्रले बताउनुभयो। हेर्नुहोस उजुरीः श्रीमान् कार्यालय प्रमुखज्यू अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौँ। विषय: राष्ट्रसेवक कर्मचारी भई अवैध रकम आर्जन तथा गैरकानुनी लगानी गरेकोले छानबिन गरी कडा कानुनी कारबाही गरिपाऊँ। माननीयज्यू, उपरोक्त विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत कर्मचारीले गैरकानुनी कार्य गरेको हुँदा निजको विवरण निम्नानुसार रहेको छ: नाम, थर: डा. दीपक कुमार मिश्र ठेगाना: सप्तरी जिल्ला, राजविराज न.पा. वडा नं. ५ (परिवर्तित वडा नं. ८) हाल: ललितपुर म.न.पा. वडा नं. २८, इमाडोल क.स.नं.: २५०७२५ नागरिकता नं.: ४५३०, सप्तरी पद: ब.क. मुटुरोग, नवौँ तह सह-प्राध्यापक (२०८१/०८/०७) श्रीमतीको नाम, थर: नताशा मिश्र ठेगाना: सप्तरी जिल्ला नागरिकता नं.: २२५०, सप्तरी अनधिकृत संस्था स्थापना र गैरकानुनी लगानी गरेको संस्थाहरू: १) रेड प्लस हेल्थ केयर प्राइभेट लिमिटेड ठेगाना: ललितपुर महानगरपालिका वडा नं. २८ कम्पनी दर्ता नं.: २६४०११–०७७/०७८ मिति: २०७८/०३/१६ स्थायी लेखा नं.: ६१००१७०२१ उद्देश्य: स्वास्थ्य क्लिनिक, औषधि, सर्जिकल सामान आयात, बिक्री वितरण, ठेक्कापट्टा लगायत। २) इनोभा हार्ट एण्ड हेल्थ केयर सेन्टर प्रा. लि. ठेगाना: ललितपुर महानगरपालिका वडा नं. २८, इमाडोल कम्पनी दर्ता नं.: २४७३२०–०७७/०७८ दर्ता मिति: २०७७/०७/२७ स्था. ले. नं.: ६०९८५१२३२ उद्देश्य: स्वास्थ्य परीक्षण, अस्पतालको बोलपत्रमा सरिक भई कार्यहरू गर्ने। निज डा. दीपक कुमार मिश्रले आफू र आफ्नी श्रीमतीको नाममा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ मा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले स्वास्थ्य क्लिनिक वा अस्पताल वा नर्सिङ होम खोल्न तथा सञ्चालन गर्न नपाउने व्यवस्थाको विपरीत कार्य गरेका छन्। साथै, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ११२ विपरीत, निजामती सेवा ऐन, २०४९ को दफा ४८ (क) मा कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा सञ्चालनको काममा भाग लिन नपाउने कानुनी व्यवस्थाको उल्लङ्घन गरेका छन्। निजामती सेवा नियमावली, २०५० को नियम १७७ विपरीत तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ मा गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई आफ्नो वा अर्काको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने व्यवस्था छ। निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को नियम ९ ले व्यापार व्यवसाय गर्न नहुने भनेकोमा सो विपरीत, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता २०८३ विपरीत, राष्ट्रिय सदाचार नीति २०८३ विपरीत, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (आ.व. २०८२/८३-२०८७/८८) विपरीत एवं उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २०८१/०८/०७ को निर्णय अनुसार सहायक प्राध्यापक (शिक्षक) समेत रहेकाले प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०१ को समेत विपरीत संस्था तथा फर्म दर्ता गरी सञ्चालन गर्नु गैरकानुनी छ। निजले माथि उल्लिखित नियम विपरीत तथा स्वार्थ बाझिने गरी स्वास्थ्य संस्था स्थापना र गैरकानुनी लगानी गरेकोले नियमानुसार सम्पत्ति छानबिन तथा कारबाही गरिपाऊँ। निजले कम्पनी दर्ता प्रबन्धपत्रमा सञ्चालकको रूपमा हस्ताक्षर गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको पत्र, शेयर लगत तथा सञ्चालक पत्र र श्रीमती नताशा मिश्र अध्यक्ष तथा सञ्चालक रही नाममा माथि लेखिएका दुवै कम्पनीको शेयर लगत साथै आवश्यक कागजात यसै साथ राखेका छौँ। उनको अन्य स्वास्थ्य कम्पनीमा पनि अवैध लगानी रहेकाले सो विवरण कम्पनी रजिस्ट्रार कार्यालयसँग माग गरी छानबिन गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ। पुनश्च साथै, तत्कालै छानबिन गर्नुपर्ने वीर अस्पतालमा गरिएको अनियमितताको बारेमा: डा. दीपक कुमार मिश्रले अस्पतालमा आफू ‘छाया निर्देशक’ हुँ भन्दै सोझै निर्देशकलाई अनुचित प्रभावमा राखी मुटु विभागमा काम नगरी/नबसी सधैँ निर्देशक कार्यालयमा बसी जबर्जस्ती धम्की दिएर खरिद, लेखा, प्रशासन र स्टोरले पेस गरेको फाइल हेर्ने र सम्बन्धित व्यापारीहरू तर्साउने र कमिसन उठाउने काम गर्छन् भनी स्टोरकै कर्मचारीहरू बताउँछन्। अस्पतालमा अत्यावश्यक सामान कोटेसनमा लिँदा आफूलाई कमिसन दिने फर्मसँग मात्रै लिने गरेको बारेमा लेखाकै एक पूर्व अधिकृतले पनि बताउँछन्। यसै आर्थिक वर्षको रु. २३ करोड बजेट आफू निकट व्यापारीलाई दिन नसक्ने भएपछि सो बजेट समर्पण गराएका छन्। उनले आफूलाई कमिसन दिने व्यापारीको मात्रै भुक्तानी गराउन आफैँ फाइल बोकेर हिँड्छन्। उनको कुनै भूमिका र आधिकारिक पत्र पनि उनीसँग छैन, तर ‘माथि पुलिस र प्रशासनमा पहुँच छ’ भन्दै सबै उच्चपदस्थ कर्मचारीलाई थर्काएर राखेका छन्। अस्पतालमा अत्यावश्यक औषधिको अभाव छ, न्युरो ओटी र युरो ओटीको सामान बिग्रेर अपरेसनमा बाधा परेको छ, तर मिश्र भने कमिसनको लागि नचाहिने सामान मगाएर स्टोरमा थन्क्याएर राख्छन् तर आवश्यक अस्पतालजन्य सामान भने अभाव छ। गत हप्ता अस्पतालले गरेको करोडौँको भुक्तानीमा डा. मिश्रले एकलौटी रूपमा २३ लाख रुपैयाँ ललितपुरको एक नाम चलेको होटल लगायतमा बोलाएर व्यापारीसँग कमिसन लिएका थिए। असार पहिलो हप्ता अस्पतालले भुक्तानी गरेको अक्सिजन, चिया खाजा, पानी, फोहोरमैला, लिफ्ट मर्मत, सूचना प्रकाशन भुक्तानी, प्लास्टिक झोला खरिद, infotak करार भुक्तानी लगायतमा अन्यसँग २२,५०,००० बिचौलिया रकम बुझेका थिए। एबीजी जाँचको सामान मगाउँदा एकै पटक १ वर्षका लागि मगाउन लगाएर १२ लाख झ्वाम पारेका थिए। विपन्न गरिब बिरामीलाई प्रयोग हुने मुटुको उपचारमा लाग्ने मेडिकल डिभाइस आफू निकट व्यापारीलाई अनियमित तवरले ठेक्का दिई ठुलो कमिसन खान्छन् भने अब अस्पतालले गर्न लागेको मेडिकल सर्जिकल बोलपत्र तयार गर्न पनि आफैँ हस्तक्षेप गरिरहेको अस्पतालकै चिकित्सकहरू बताइरहेका छन्। कर्मचारी भर्ना तथा म्याद थपमा कर्मचारीलाई डर देखाएर रकम उठाउने गर्दछन्। उनको बिचौलिया कार्यको विरोध गरेमा कर्मचारीलाई आफ्नो पहुँच गृह मन्त्रालय र पुलिससँग सेटिङ छ भन्दै ‘पुलिस र सीआईबी लगाएर केही झुटा मुद्दा र लागुपदार्थ हालेर फसाई दिन्छु’ भन्छन् र गुण्डागर्दी पनि प्रयोग गरिरहेका छन्। अतः निजमाथि हदैसम्मको कारबाही र अवैध सम्पत्ति तथा लगानी छानबिन गरिपाऊँ। फरियादी अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ नियम ५, ६ (अज्ञात)
Aug 11
HP
HealthPati
· Aug 11
चिकित्सक अभावले रोकिएको मानसिक स्वास्थ्य सेवा फेरि सुरु
धनगढी । मानसिक रोग विशेषज्ञ चिकित्सक नहुँदा केही समयदेखि प्रभावित बनेको सेती प्रादेशिक अस्पतालको मानसिक स्वास्थ्य उपचार सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालमा छात्रवृत्ति करारमा मानसिक रोग विशेषज्ञ चिकित्सक नियुक्त भई जिम्मेवारी सम्हालेपछि बहिरङ्ग सेवा पुनः सञ्चालन गरिएको हो। अस्पतालका अनुसार साउन २६ गतेदेखि मानसिक रोगसम्बन्धी ओपीडी सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। विशेषज्ञ चिकित्सकको अभावमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीले केही समयदेखि अस्पतालमा नियमित विशेषज्ञ परामर्श लिन पाएका थिएनन्। चिकित्सकको व्यवस्था भएपछि अस्पतालले उक्त सेवा पुनः सुरु गरेको हो। अब मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका सेवाग्राहीले सेती प्रादेशिक अस्पतालमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचारसम्बन्धी सेवा लिन सक्नेछन्। अस्पताल प्रशासनले सेवा पुनः सञ्चालनमा आएको जानकारी गराउँदै सम्बन्धित सेवाग्राहीलाई आवश्यक उपचारका लागि अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।
Aug 6
HP
HealthPati
· Aug 6
स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि लागू
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको तलबवृद्धिअनुसार स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि लागू भएको छ। यससँगै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूले साउन महिनादेखि बढेको आधारभूत तलब प्राप्त गर्ने भएका छन्। नयाँ तलबमानअनुसार स्वास्थ्य सेवाको १२औँ तहका कर्मचारीको मासिक आधारभूत तलब ८४ हजार ५७६ रुपैयाँ कायम भएको छ। त्यस्तै, ११औँ तहका कर्मचारीले ७३ हजार १९३ रुपैयाँ, १०औँ तहका कर्मचारीले ७० हजार ७९४ रुपैयाँ तथा ९औँ तहका कर्मचारीले ६५ हजार ३७० रुपैयाँ आधारभूत तलब पाउनेछन्। त्यसैगरी, ८औँ तहका कर्मचारीको आधारभूत तलब ६० हजार ७५९ रुपैयाँ, ७औँ तहको ५८ हजार ८४१ रुपैयाँ र ६औँ तहको ५६ हजार ६८ रुपैयाँ निर्धारण गरिएको छ। मध्य तथा सहायक तहका कर्मचारीको तलब पनि वृद्धि भएको छ। नयाँ व्यवस्थाअनुसार वरिष्ठ पाँचौँ तहका कर्मचारीले ४८ हजार ४३७ रुपैयाँ तथा सहायक पाँचौँ तहका कर्मचारीले ४५ हजार ८४१ रुपैयाँ आधारभूत तलब पाउनेछन्। त्यसैगरी, सहायक चौथो तहको आधारभूत तलब ४४ हजार ६३४ रुपैयाँ, सहायक तेस्रो तहको ३७ हजार ४५७ रुपैयाँ, सहायक दोस्रो तहको ३५ हजार ३८२ रुपैयाँ र सहायक प्रथम तहको ३६ हजार २३२ रुपैयाँ कायम गरिएको छ। सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीको सेवा–सुविधा सुधार गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि तलब वृद्धि गरेको हो। नयाँ तलबमान साउन १ गतेदेखि कार्यान्वयनमा आएकाले स्वास्थ्य सेवाका कर्मचारीले साउन महिनाको तलब नयाँ दरअनुसार प्राप्त गर्नेछन्।
Aug 5
HP
HealthPati
· Aug 5
नर्सिङ क्षेत्र सुधारका लागि सरकारका १९ प्रतिबद्धता
काठमाडौँ । नर्सिङ क्षेत्रको सुधारका विभिन्न माग राख्दै आमरण अनशनमा रहनुभएकी नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएसँगै रानाभाटले जुस पिएर छ दिन लामो आमरण अनशन अन्त्य गर्नुभएको हो। रानाभाटले साउन १४ गतेदेखि नर्सिङ क्षेत्रको सेवा–सुविधा, व्यावसायिक मर्यादा तथा नीतिगत सुधारका माग राख्दै आमरण अनशन सुरु गर्नुभएको थियो। बुधबार भएको सहमतिसँगै आन्दोलन तत्कालका लागि स्थगित भएको छ। सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा तथा कानुन अधिकृत जयप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ। आन्दोलनरत पक्षका तर्फबाट नर्स ज्योति रानाभाटसहित प्रतिनिधिमण्डलले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ। सहमतिअनुसार सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा र कार्य अवस्थाबारे अध्ययन गरी सुझाव दिन सात दिनभित्र मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्नेछ। कार्यदलले बढीमा छ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ। छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफको योग्यता र विशेषज्ञताअनुसार जिम्मेवारी, सेवा–सुविधा तथा नेतृत्वको अवसर सुनिश्चित गर्न ‘चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२’ लाई ३० दिनभित्र संशोधन गर्ने सहमति पनि भएको छ। त्यसैगरी राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीतिअनुसार सहायक नर्स–मिडवाइफ (एएनएम) लाई प्रवीणता प्रमाणपत्र तहको नर्सिङ तथा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तथा आगामी शैक्षिक सत्रदेखि भर्ना प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक पहल गरिने उल्लेख गरिएको छ। सहमतिपत्रमा सबै अस्पतालमा नर्सिङ प्रक्रिया, नर्सिङ केयर प्लान, नर्सिङ अभिलेखीकरण, नर्सिङ मूल्याङ्कन, औषधि व्यवस्थापन, सङ्क्रमण नियन्त्रण, बिरामी सुरक्षा, प्रतिकूल घटना व्यवस्थापन तथा नियमित नर्सिङ र मिडवाइफ्री अडिट अनिवार्य रूपमा लागू गर्ने व्यवस्था गरिएको छ। यस्ता अडिटका प्रतिवेदन सम्बन्धित अस्पतालको वेबसाइटमा सार्वजनिक गर्ने तथा एकीकृत स्वास्थ्य सूचना प्रणालीमार्फत नियमित प्रतिवेदन गर्ने व्यवस्था मिलाइनेछ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ बमोजिम सबै स्वास्थ्य संस्थामा सम्मानजनक मातृत्व सेवाको अडिट अनिवार्य गर्ने, मिडवाइफ्री सेवाको निरन्तरता र गुणस्तर सुधारका लागि आवश्यक व्यवस्था गर्ने तथा मिडवाइफ्री सेवा इकाइ स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ। यस्तै, सबै सरकारी, निजी, गैरसरकारी तथा शिक्षण अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनिवार्य रूपमा लागू गरिनेछ। ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ सम्बन्धी मापदण्ड संशोधन गरी नर्स तथा मिडवाइफसहित अन्य स्वास्थ्यकर्मीमा समेत लागू गर्ने सहमति भएको छ। नेपाल नर्सिङ परिषद्ले एक महिनाभित्र निरन्तर व्यावसायिक विकास कार्यक्रम सञ्चालन गर्ने तथा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिम निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत उपलब्ध गराउने सहमति भएको छ। साथै नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर सुधार, अनुसन्धान, नेतृत्व विकास, प्रमाणमा आधारित अभ्यास तथा विशेषज्ञता विकासलाई संस्थागत गर्दै वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिने उल्लेख छ। सहमतिपत्रमा स्वास्थ्य सेवा ऐन तथा नियमावली संशोधन, सेवा अवधि तथा दुर्गम सेवासम्बन्धी व्यवस्था परिमार्जन, नर्स तथा मिडवाइफको पद तथा दरबन्दी सुनिश्चित गर्ने, नर्स–मिडवाइफ–रोगी अनुपात प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, नेपाल नर्सिङ परिषद् ऐन, २०५२ लाई समयानुकूल संशोधन गर्ने तथा नर्सिङ र मिडवाइफ्री सेवा ऐन तर्जुमा गर्ने विषयसमेत समेटिएको छ। त्यसैगरी बिरामी सुरक्षा, क्लिनिकल सुशासन, गुणस्तर सुधार, घटना प्रतिवेदन प्रणाली, नर्सिङ तथा मिडवाइफ्री संवेदनशील सूचकलाई स्वास्थ्य प्रणालीका अनिवार्य सूचकका रूपमा संस्थागत गर्ने तथा विशेषज्ञ नर्स, विशेषज्ञ मिडवाइफ, उन्नत अभ्यास नर्स र नर्स–मिडवाइफ अभ्यासकर्तासम्बन्धी अध्ययन गरी आवश्यक संरचना विकास गर्ने सहमति पनि भएको छ। स्वास्थ्य सचिव डा. विकास देवकोटाले नर्सिङ पेशाको मर्यादा, सेवा–सुविधा तथा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सहमतिपत्रमा उल्लेख भएका सबै बुँदाको कार्यान्वयन निर्धारित समयसीमाभित्र अघि बढाइने उल्लेख गर्दै सरकार र नर्सिङ समुदायबीचको सहकार्यले स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। अनशन तोड्दै नर्स ज्योति रानाभाटले सहमतिमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयन नै आन्दोलनको वास्तविक उपलब्धि हुने बताउनुभयो। उहाँले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नर्सिङ समुदाय, स्वास्थ्यकर्मी तथा आन्दोलनमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो।
Jul 30
HP
HealthPati
· Jul 30
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपश्चात् उहाँले आजै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदबहाली गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट हुनुभएका डा. प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको प्रारम्भदेखि नै यसको विस्तार, सुदृढीकरण तथा प्रभावकारी कार्यान्वयनका पक्षमा निरन्तर अध्ययन, अनुसन्धान, लेखन र नीतिगत वकालत गर्दै आउनुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार, स्वास्थ्य बीमा प्रणालीलाई पारदर्शी, उत्तरदायी र दिगो बनाउने तथा सेवाग्राहीमैत्री व्यवस्थापनका विषयमा लामो समयदेखि आवाज उठाउँदै आउनुभएको छ। स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित विभिन्न नीतिगत बहस र अध्ययनमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ। पदबहालीपछि अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने गरी सुधारका कामलाई अघि बढाइने बताउनुभयो। उहाँले स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी, गुणस्तरीय, पारदर्शी र दिगो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने उल्लेख गर्नुभयो। उहाँले बीमित नागरिकले सहज र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण, सेवा प्रवाहमा देखिएका समस्या समाधान, दाबी भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थासँगको समन्वय सुदृढ गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रमको दायरा र प्रभावकारिता विस्तार गर्न विशेष जोड दिइने बताउनुभयो । अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै नागरिकको विश्वास जित्ने गरी बोर्डले सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।